दर्शकको मन जित्दै ‘गोजीमा दाम छैन’

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । हालै सार्वजनिक भएको चलचित्र चंगा चेटको ‘गोजीमा दाम छैन’ बोलको गीतले दर्शकको मन जितेको छ । चलचित्रको गीत दर्शकले रुचाएसँगै निर्माण पक्ष पनि दंग बनेको छ । चलचित्रको गीत चलेसँगै चलचित्रको हाइप पनि एकाएक बढेको छ ।

त्यसो त चलचित्रको गीत चलेपछि चलचित्र पनि राम्रो चल्छ भन्ने मानसिकता समेत उब्जिन थालेको छ । विगतका केही चलचित्र यसको दृष्टान्त पनि बनेका छन् । गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । ‘नाई नभन्नु ल’ का संस्करणदेखि ‘छक्का पन्जा’ सिरिज यसका उदाहरण पनि हुन् ।

चंगा चेटको यो गीत म्युजिकल्लीमा पनि उतिक्कै हिट छ । फिल्मकी निर्मात्री शर्मिला पाण्डेका अनुसार, म्युजिकल्लीमा ४ हजार बढीले गीतमाथि टिक टक बनाएका छन् । उनी गीतलाई दर्शकले रुचाएकोमा गदगद देखिएकी छन् । उता ‘चङ्गा चेट’ निर्देशक दीपेन्द्र के. खनाल गीतले फिल्मको हाइप बढेकोमा दङ्ग छन् ।

‘चरी चट्ट परी’, ‘टाकान टुकुन’, ‘सुर्के थैली खै ?’ लगायतका सर्वाधिक हिट गीत दिएका गायक तथा संगीतकार राजनराज सिवाकोटीले फेरि दर्शकलाई अर्को उत्कृष्ट गीत पस्किन सफल भएकोमा गर्व गर्छन् । ‘गोजीमा दाम छैन…’ मा उनको स्वरसँगै संगीत छ । उनलाई गायनमा मेलिना राई र ग्रिस्मा सिवाकोटीले साथ दिएका छन् । हरिहर तिमल्सिनाले गीतका शब्द लेखेका हुन् । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री र परमिता आरएल राणा फिचर्ड छन् ।