दर्शक तथा श्रोताको मन जित्दै मेनुका

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । नेपाल आईडलबाट बाहिरिएकी मेनुका पौडेल हाल भारतीय रियालिटी शो सारेगामापमा आफ्नो प्रस्तुती दिइरहेकी छिन् । उनको प्रस्तुतीले जज र जुरी मेम्बर तारिफयोग्यो भएको बताउँदै आएका छन् ।

दर्शक तथा श्रोता र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी मेनुका उत्कृष्ट १३ मा पुग्न सफल भएकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको गत आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए । टप फिप्टीनको सो प्रतिस्पर्धामा उनले जुरी मेम्बरबाट ९९.३ प्रतिशत अंक प्राप्त गरी टप १३ मा प्रवेश गरेकी हुन् ।

जज साजिद खानले उनको प्रशंसा गर्दै भने, ‘तपाईंले निकै सुन्दर तरिकाले यो गीत गाउनुभयो । तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो । समग्रमा तपाईंको प्रस्तुती निकै शानदार थियो । यस्तै अर्का जज शेखर दादलानीले उनलाई ‘बेटा’ भनेर सम्बोधन गर्दै भने, ‘तिमीले जसरी गाइरहेकी छाैं, त्यसरी नै निडर भएर गाउ ।’

यस्तै, बलिउडकी डिम्पल गर्ल भनेर चिनिने प्रिटी जिन्टाले पनि उनको खुलेरै तारिफ गरिन उनले भनिन् ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो छ ।’ यस्तै, कार्यक्रमका प्रस्तोता आदित्य नारायणले उनीसँग नेपाली भाषामा कुरा गर्दैै भने, मेनुकाजी, एकदमै राम्रो लाग्यो ।’

उनले मेनुकालाई नेपाली भाषामै प्रश्न पनि सोधे, ‘तपाईंलाई सारेगमपमा आएर कस्तो लागेको छ ?’ जवाफमा मेनुकाले भनिन–‘मलाई एकदम खुसी लागेको छ ।’