दशकपछि माल्दिभ्स साफ च्याम्पियन, भारत उपविजेता

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ ।  बंगलादेशको ढाकामा शनिबार भएकाे फाइनल खेलमा साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो ।

माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको २००९ को फाइनलमा माल्दिभ्स भारतसँग अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । कमजोर सुरुवात गरेको माल्दिभ्स भाग्यको सहारामा सेमिफाइनल पुगेको थियो ।

समूह चरणमा विना जित श्रीलंकासँग अंक र गोलअन्तरमा बराबरी भएपछि टसमा भाग्यशाली रहँदै अघि बढेको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३-० ले निराश पारेको थियो । फाइनलमा भारतलाई पराजित गरसँगै माल्दिभ्सले यसपटक समूह चरणमा बेहोरेको २–० को हारको बदला समेत लिएको छ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार राति भएको फाइनल खेलमा माल्दिभ्सले खेलको १९औं मिनेटमा अग्रता बनाएको थियो । इब्राहिम माहुधी हुसेनले हसन नेइजको पासमा डि–बक्सको मध्यभागबाट गरेको फ्लिक प्रहार भारतका गोलरक्षक विशाल केथले रोक्ने कुनै मौका पाएन । १–० ले पछि परेपछि भारतले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन बरु दोस्रो हाफमा थप १ गोल खान पुग्यो ।

६६औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारेका थिए । हम्जाथ मोहमेदको पासलाई अलिले सदुपयोग गरेका थिए । भारतले खेलको अन्त्यतिर गोल फर्काएपछि त्यसले नतिजामा खासै फरक परेन । इन्जुरी समयको दोस्रो मिनेटमा सुमित पासीले गोल गरेका थिए । अर्को गोल थप्न नसेपछि भारतले उप विजेतामा चित्त बुझाउनु पर्यो । भारत सात पटकको विजेता हो ।