दशैंका लागि मुस्ताङबाट पन्ध्र हजार भेडा च्याङग्रा निकासी

title
सोमवार, अशोज २२, २०७५

सन्तोष गौतम/म्याग्दी । दशैंका लागि हिमाली जिल्ला मुस्ताङबाट पन्ध्र हजार भेडा च्याङग्रा निकासी भएको छ ।

म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, र काठमाडौंको बजारमा मुस्ताङबाट भेडा च्याङ्ग्रा निकासी भएको हो । भेडा च्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १५ हजार भेडा च्याङ्ग्रा निकासी भइसकेको जनाएको छ ।

आइतबारसम्म १० हजार भेडा र पाँच हजार च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरिसकिएको केन्द्रका पशु चिकित्सक शिव भुषालले जानकारी दिनुभयो । खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा राजधानी लैजाने भएको छ । ५ सष्य ५० वटा च्याङ्ग्रा मुस्ताङबाट पठाईसकेको संस्थानको जोमसोम स्थित कार्यालयका प्रमुख गंगाप्रसाद शाहले बताउनुयभो ।

सोमबार थप ४ सय ५० च्याङ्ग्रा खरिद गरी पठाउन लागिएको शाहले बताउनुभयो । मुस्ताङमा एउटा जिउँदो च्याङ्ग्रा १७ देखि २२ हजार र भेडा १४ देखि १७ हजार रुपैयाँ प्रतिगोटाका दरले खरिद बिक्री भएको सिन्धुपाल्चोकका ब्यापारी पशुपती सिलवालले बताउनुभयो ।

प्रतिकिलो ५ सय ३० रुपैयाँका दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौमा जिउँदो च्याङ्ग्रा प्रतिकिलोका ६५० रुपैया दरले बिक्री गर्ने जनाएको छ ।