दाङमा आगलागी : एकै घरका ३ जनाको मृत्यु, सात गाई र चार बाख्रासमेत जलेर नष्ट

title
शुक्रबार, मंसिर २८, २०७५

सुशील बस्नेत/दाङ । फुसले छाएको घरमा आगलागी हुँदा दाङको बङ्गलाचुली गाउँपालिका–८ गुराँसेमा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

आगलागिबाट नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजे सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उहाँकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ ।

हाँसीपुर प्रहरीचौकी र स्थानीयवासीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् ।