दिपक भने– हाँस्य ब्यङ्ग्य जिम्मा प्रधानमन्त्री ओलीलाई

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौ । वास्तवमा गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व भए पनि गाईजात्रामा कलाकारहरु पनि निकै व्यस्त बन्छन् । गाइजात्राको अवसर पारेर नेपाली चलचित्र र हाँस्य ब्यङ्ग्य क्षेत्रका चर्चित कलाकारहरु काठमाडौंमा एकसाथ भेला भए ।

हाँस्य प्रहसन भन्दा पनि कलाकारहरले आफ्ना भनाइ राख्दै देशको अवस्थाका बारेमा व्यंग्य गरे । रिपोटर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले कविता सुनाए ।

अर्का कलाकार जितु नेपालले पनि देशको अवस्थाको बारेमा बोले । यसपटकको गाइजात्रा मुलुकमा ८ वटा सरकार रहेको भन्दै जितुले भने–‘पहिलो पटक देशमा मन्त्री वेरोजगार भएका छन् । म संघीयताको विरोधी होइन । तर, घर–घरमा मन्त्री छन् । तर, बाटो जस्ताको तस्तै, देश जस्ताको तस्तै रहेको छ ।’

अर्का हाँस्य कलाकार दिपकराज गिरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै खनिए । उनले, केही समय आफुहरुले हाँस्य ब्यङ्ग्य क्षेत्रबाट बिदा लिएर ओलीलाई जिम्मा दिनुपर्ने बताए । आफूहरुले बर्षौदेखि देशको बारेमा कुरा गरेपनि त्यसमा कुनै सुनुवाई नभएको उनको भनाइ थियो ।

अर्का हाँस्य कलाकार मनोज गजुरेलले पनि देशमा सरकारले लगाएको करको बिषयमा कुरा गरे । उनले दिपकराज गिरी र दिपाश्री निरौलाप्रति व्यंग्य गर्दै भने–‘दीपाले दिपकलाई कति माया गर्छौ भनेर सोध्दा दिपकले ८५ प्रतिशत मात्र भने । १५ प्रतिशत किन कम गरेको भनेर सोध्दा दिपकले १५ प्रतिशत मनोरञ्जन कर सरकारले काटेको जवाफ दिए ।’

गाइजात्रा पर्वको अवसर पारेर मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिए । यहीक्रममा, काठमाण्डौको नयाँ बाँनेश्वरमा रेडियो अडियोले गाइजात्रा विशेष कार्यक्रम आयोजना गरेको थियो । सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा विभिन्न हाँस्य कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रममा चलचित्र ‘रामकहानी’का मुख्य कलाकार नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले माहोल तताएका थिए ।

त्यसो त विगतका वर्षहरुमा जस्तो कलाकारहरुको गाईजात्रा प्रहसन यो पटक भने देखिएन । विगतका वर्षमा राष्ट्रियसभा र कमलादीमा यस्ता कार्यक्रमको आयोजना गरिन्थ्यो ।

त्यो भन्दा पहिले हालको राष्ट्रिय सभा भवनमा समेत गाईजात्रा विशेष कार्यक्रम लामै समयसम्म चल्ने गर्दथ्यो । तर अहिले त्यस्तो प्रहसन नदेखिए पनि औपचारिकता निभाउन कलाकार एकै ठाउँमा जम्मा भएर व्यंग्यमा व्यस्त बनेका थिए ।