दिपेन्द्रको ‘घर’ बनाउन सुरक्षाले साथ दिने

title
शुक्रबार, पुस २०, २०७५

काठमाडौं । केही दिन अघि चलचित्र निर्माणको घोषणा भएको चलचित्र ‘घर’ युनिटले चलचित्रका लागि कलाकारहरुलाई अनुबन्धित गर्न थालेको छ । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन् ।

निर्माण पक्षले सुरक्षालाई टोलीमा समावेश गरेसँगै निर्देशक तथा निर्माता दिपेन्द्र के खनालका लागि सुरक्षा विशेष भएको चर्चा चलचित्रवृत्तमा शुरु भएको छ ।  किनकी दिपेन्द्रका चलचित्रमा सुरक्षा नछुट्नुले पनि यो कुराको संकेत गरेको हो । डीएस डिजिटलको ब्यारनमा निर्माण हुन लागेको हरर कथाको यो चलचित्रमा सुरक्षा फाइनल भएको दिपेन्द्रले जानकारी दिएका हुन् ।

यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गर्दैछन् । चलचित्रमा अर्पण नै मुख्य भूमिकामा छन् । चलचित्रको घोषणा सभामा नायिका फाइनल नभएको जानकारी दिइएको थियो । दिपेन्द्रले यो चलचित्रलाई निर्माण गर्दैछन् । शर्मिला पाण्डेको लगानी रहने चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ ।

सुरक्षाले यसअघि दिपेन्द्रले निर्देशन गरेको ‘धनपति र चंगाचेट’मा काम गरिसकेकी छिन् । यसैले, दिपेन्द्रको चलचित्रमा उनको ह्याट्रिक भएको छ । अभिनेता तथा निर्देशक अर्पणले चौथो पटक निर्देशन गर्न लागेको फिल्म ‘घर’ हो । बिहीवार अभिनेत्रीसँग निर्माता र निर्देशकको कागजी सम्झौता भएको हो ।

फिल्मका लागि अझै एक नायिकाको खोजी भइरहेको जनाइएको छ । ‘आधा लभ’ र ‘मुखौटा’ निर्देशन गरिसकेका अर्पणले ‘सुनकेसरी’ पनि हरर जानराकै निर्माण गरेका थिए । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ ।