दुईवटा निर्माणाधीन झोलुंगेपुल अलपत्र

title
शनिबार, चैत्र २, २०७५

डिलबहादुर खत्री-सुर्खेत । पूर्वी सुर्खेतको भेरी नदी माथिका दुईवटा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेका छन । निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि दुई वर्षदेखि झोलुङ्गे पुल निर्माणको काम अधुरो भएको हो । पुल नबन्दा कृषिजन्य वस्तुको व्यापार व्यवसायसँगै नदी तर्न समेत स्थानीय बासिन्दालाई सास्ती हुने गरेको छ ।

त्यसोत, निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि पूवी सुर्खेतको भेरी नदी माथि बनाउन लागिएका दुई वटा झोलुङ्गे पुल दुई वर्षदेखि अलपत्र परेका छन् । सस्पेन्सन ब्रिज डिभिजन अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण शुरु भएको भेरीगंगा नगरपालिका र लेखबेसी नगरपालिका जोड्ने साधीखोला पुल र गुर्भाकोट नगरपालिकाको आपसोतीको झोलुङ्गे पुल अलपत्र परेका हुन् ।

पुल निर्माणका लागि सबै प्रकारको सहयोग गर्न स्थानीयबासी तयार भएपनि ठेकेदार सम्पर्कमा नआएको भेरीगंगा नपा —११, साँधीखोलाका झरसिंह बुढाले बताए । समयमा पुल नहुँदा आवातजावतसँगै कृषिजन्य व्यापार व्यवसायका लागि कठिनाई भईरहेकाले तत्काल पुल बनाई दिन सरकारसँग माग गरे ।

काठमाडौंको बहादुर थिङ निर्माण सेवा प्रालिले २०७३ सालमा साँधीखोला पुल ६१ लाख दुई सय र आपसोतीको एक करोड ५ लाख ४२ हजार नौ सय रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको एक वर्ष भित्रै पुल निर्माण बनाई सक्नु पर्ने नियम भएपनि म्याद थप गर्दासमेत विभिन्न कारण देखाउँदै काम छोडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो ।

यता पूर्वाधार विकास कार्यालयले साविकको जिल्ला प्राविधिक कार्यालयबाट झोलुङ्गे पुलहरुको कागजात आफ्नो कार्यालयमा हस्तान्तरण भएपनि बजेट जति स्थानीय तहमा गएकाले प्राविधिक सहयोगबाहेक अरु केही गर्न नसकिने बताए ।

ठेकेदारले एउटै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभित्र पूरा हुन सकेका छैनन् । झोलुङ्गे पुल नहुँदा स्थानीय बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुका साथै कतिपयले त नदी तर्ने क्रममा ज्यानै गुमाएका छन् । यस तर्फ पुल निर्माण ठेकेदारसँगै सरकारको बढी ध्यान जान जरुरी छ ।