दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा सुक्ष्म ढंगबाट छानबिन शुरु

title
सोमवार, साउन २८, २०७५

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताउनुभएको हो । मन्त्री अधिकारीले जहाज आउनु ज्यादै राम्रो भएको र केही गल्ती भएको भए सरकार र सदनले नछाड्ने स्पष्ट पार्नुभयो । मन्त्री अधिकारीले अटोमेसन प्रणालीमार्फत् इ–टिकटिङको व्यवस्था गरिएपछि टिकट बेचबिखनमा केही अनियमितता नहुने बताउनुभयो ।

मन्त्री अधिकारीले पर्वतारोहणमा जाने पर्यटकको फर्जी उद्धारका सम्बन्धमा समेत सरकारले छानबिन गरिरहेको र दोषीमाथि कारवाही गर्ने बताउनुभयो । आठवटा ट्राभल ट्रेकिङ् उद्धार कम्पनी, चारवटा अस्पतालहरु, तीनवटा हेलिकप्टर कम्पनीहलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको उहाको भनाई छ ।

मन्त्री अधिकारीले उद्धारमा संलग्नहरुको बारेमा नक्कली कागजात तयार पारी बीमा दावी गर्ने सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको पनि जानकारी दिनुभयो । आगामी दिनमा यस्तो कार्यलाई निरुत्साहित गर्न भदौ १५ भित्र निर्देशिका तयार पारिने उहाको भनाई छ ।