दुर्गम गाउँमा खानेपानी आयोजना, अब ‘एक घर एक धारा’

title
बुधबार, बैशाख ११, २०७६

बागलुङ- तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५/७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए ।

पुस्तौदेखि खानेपानी समस्या भोग्दै आएका नर्जावासी घर घरमै पानी आएपछि निकै हर्षित भएका छन् । बस्तीभन्दा ७०० मिटर माथि रहेको बराहकोट महरेखोला मुहानबाट पानी ल्याएर नर्जा गाउँका ११० व्यक्तिगत तथा छ सार्वजनिक घरमा खानेपानीको सहज आपूर्ति गराइएको बराहकोट खानेपानी आयोजनाका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए।

‘गाउँमा भौगोलिक हिसाबले निकै टाढा टाढा छरिएकाले पानी लिनका लागि छण्टौँ हिँड्नुपर्ने बाध्यता थियो”, छन्त्यालले भने, “एक घर एक धाराले समयको बचत मात्र हैन बचत भएको पानीबाट कृषिजन्य उत्पादन गर्नसमेत सहयोग पुर्‍याउने छ ।” खानेपानीको सहज आपूर्ति हुँदा गाउँमा सिंहदरबार आएको महसुस गर्न पाएको स्थानीय उपभोक्ता जालबहादुर रसाइलीले बताए ।

खानेपानीको सङ्कट भएको गाउँमा घर घरै पानी आउँदा स्थानीयवासी दङ्ग परेको वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताए ।

जिल्लाकै विकट पर्ने तमानखोला गाउँपालिका स्थानीय जनप्रतिनिधि आइसेकपछि क्रमशः सुगममा परिणत हुन पुगेको छ । घण्टौं हिँडेर पानी ल्याउने बाध्यतामा परेका स्थानीयले घरमै धारो आउला भन्ने कल्पनासमेत गरेका थिएनन् । रासस