दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटमा फेला, हेलिकोप्टरमा सवार ७ मध्ये ६ जनाको मृत्यु, १ जना जीवितै

title
शनिबार, भदौ २३, २०७५

काठमाडौं । गोर्खाबाट काठमाडौं फर्कने क्रममा सम्पर्कविहिन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटीएको छ ।

उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलकोप्टर नुवाकोटमा फेला परेको हो । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

नुवाकोट जिल्ला पुरानो बेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकोप्टर भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकोप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु सवार थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु सवार थिए ।