दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटमा भेटियो, ६ जनाको मृत्यु

title
शनिबार, भदौ २३, २०७५

नुवाकोट । गोरखाको सामागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाको नाम आनी डोल्मा डिकी रहेको बताइएको छ।नुवाकोट जिल्ला पुरानो बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा हेलिकोप्टर भेटिएको हो।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त हेलिकोप्टर बिहान ७ः४० बजे सामागाउँबाट काठमाडाैका लागि उडेको थियो ।