दूरसञ्चार प्राधिकरणमा झाको नियुक्तिबारे जवाफ पेश गर्न संसदीय समितिबाट सरकारलाई निर्देशन

title
बिहिबार, अशोज १८, २०७५

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे जवाफ पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहिवार बसेको विकास तथा प्रविधि समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ पेश गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा सांसदहरुले प्राधिकरणमा बिना प्रतिस्पर्धा झाको नियुक्ति गरिनुको कारणबारे प्रश्न उठाएका थिए ।

बैठकमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार मन्त्रालयले गरेका काम र भावी योजना तथा चुनौती बारे जानकारी गराउनुभएको थियो । बाँस्कोटाले सरकारले सबै काम कानुनसम्मत तरिकाले गरेको बताउनुभयो । आफुले गरेको कामलाई अवरोध गर्नका लागि नकारात्मक तवरले प्रचार गर्न खोजेको उहाँले गुनासो गर्नुभयो ।

गत भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।