देशभरबाट तुईन विस्थापन गर्ने प्रधानमन्त्रीको घोषणा अझै कार्यान्वयन भएन

title
सोमवार, बैशाख २, २०७६

बद्री पन्त/जाजरकोट । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको घोषणा हो अब दुई वर्षमा तुईन विस्थापित हुन्छ । तर, विस्थापन योजना घोषणामै सीमित भयो । केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुभयो तर, तुईन दुःखकष्ट झेलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएन ।

जाजरकोटको नलगाड नगरपालिकाका स्थानीय आधारभूत आवश्यकता पूर्ति गर्न तथा दैनिक जिविकोपार्जन गर्न जोखिम मोल्दै कष्टपूर्ण तुईनयात्रा गर्न बाध्य छन् । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा गरेको घोषणा अझै कार्यान्वयन हुन सकेको छैन । तुईनबाटै विद्यार्थी, शिक्षक र सर्वसाधारण नदी वारपार गर्नुपर्ने बाध्यतामा छन् ।

पुल पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता छ । थोरै समय जोगाउन धेरै जोखिम मोल्नुपर्ने स्थानीयको भनाई छ । स्थानीय प्रविधीबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुण्डिएर स्थानीयले एक सय मीटर चौडा भेरी नदी पार गर्ने गरेका छन् ।

सत्तारुढ दलका शीर्ष नेता देशभरका तुईन विस्थापन गर्ने घोषणा गर्दै हिँडिरहेका बेला स्थानीय जनप्रतिनिधि भने पुल बनाउने पैसा नै नभएको दाबी गर्छन । यसको मर्मतमा पनि सरकारको सहयोग छैन । स्थानीयले नै पैसा उठाउने गरेका छन् ।