देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले चलखेल गरेको गृहमन्त्रीको आरोप

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले चलखेल गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बिहिवारकोे बैठकमा कञ्चनपुरकी बालिका बलात्कार र सांसद निरु पालमाथिको घटनाबारे जानकारी गराउँदै गृहमन्त्री थापाले देशमा राजनीतिक अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको जानकारी आएको बताउनुभयो ।

यस विषयमा सरकार अन्त्यन्तै गम्भीर रहेको भन्दै गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने षड्यन्त्रलाई पनि निस्तेज पारिएको दाबी गर्नुभयो ।

सांसद निरु पालमाथिको घटनाका विषयमा छानविनको तयारी भइरहेको भन्दै उहाले देशमा राजनीतिक स्थिरता नचाहनेहरुले यस्तो घटना फैलाउन चाहेको बताउनुभयो । सांसद पालको घटना आर्थिक अपराधस“ग नभइ राजनीतिसँग जोडिएको उहाको भनाई छ ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा बारेमा जानकारी गराउदै उहाले कैलाली जिल्लाका २२ वर्षीय जीवन घर्ती मगर, कञ्चनपुरका दीपक नेगीलाई नियन्त्रणमा लिएर छानविन अगाडि बढाइएको जानकारी दिनुभयो ।

बैठकमा १० दिन लामो युरोप भ्रमणका बारेमा जानकारी गराउदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विदेश नीति, लगानीको नीति, नयाँ सरकारको कार्यक्रमलगायतका विषयमा अन्तराष्ट्रिय समूदायले चासो राखेको बताउनुभयो ।

भ्रमणका क्रममा आफुले युरोपमा व्यापार विस्तारका लागि थप प्राथमिकतामा राख्न आग्रह गरेको उहाले बताउनुभयो ।