देश दौडाहामा नेपथ्य, आज धरानमा धमाका 

title
शुक्रबार, मंसिर ७, २०७५

काठमाडौं । नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा सांगीतिक यात्रा शुरु गरेको छ । तराइका चार सहरमा हुने श्रृंखलावद्ध आयोजना मध्ये पहिलो कार्यक्रम विर्तामोडमा शुरु भएको छ । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ कन्सर्ट आयोजना भएको हो ।

डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा कर्णाली’ बज्न थालेपछि विशाल मैदानमा उपस्थित दर्शकहरुले चर्को कोलाहलका साथ स्वागत गरेका थिए ।

त्यसपछि अर्को म्यूजिक भिडियो ‘ऐनाझ्याल’ प्रस्तुत गरिएको थियो । त्यसपछि मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्याण्डकै सबैभन्दा पहिलो रेकर्ड भएको गीत सुनाएको थियो । ब्याण्ड २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभरि घुम्ने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको हो । यसरी चयन गरिएको पहिलो रेकर्ड भएको गीतमा ब्याण्डका प्रारम्भिक दिनदेखि अहिले सम्मका सदस्यहरुको सम्झनारुपी तस्बिरहरु प्रस्तुत गरिएको थियो । स्थानीय तन्नेरीहरुले उत्साहका साथ यस गीतलाई स्वागत गरेका थिए ।

स्थानीयस्तरमा आयोजना हुने फूटबल प्रतियोगिताको आयोजनास्थलका रुपमा समेत चिनिएको यस प्रांगणमा हजारौं दर्शकको उपस्थिति रहेको थियो । मञ्च आधुनिक साउण्ड सिस्टम र प्रकाश ब्यवस्थाले निकै नै मनमोहक बनेको थियो । कार्यक्रम त्यसपछि पनि नेपथ्यका नयाँ पुराना गीतहरुबाट निरन्तर अघि बढिरह्यो ।

सँधै झैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरिम–यो शिशैको गोलीले’, ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘तालको पानी’ जस्ता गीतहरुलाई दर्शकले रुचाएका थिए । देशभक्ति जगाउने ‘गाउँ गाउँबाट उठ’ हुँदै कार्यक्रमको अन्त्यमा भने ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिएको थियो ।

गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै बिर्तामोडको पहिलो कन्सर्टको सम्झना गरे । कार्यक्रम हेर्नका निम्ति पूर्वाञ्चलकै फरक फरक भेगका दर्शकहरुको उल्लेखनीय उपस्थिती थियो । स्थानीय सहकारी ‘सहारा नेपाल’ले बिर्तामोडमा नेपथ्यलाई प्रस्तुत गरेको हो ।

कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरु मद्दत गर्ने जानकारी आयोजकले दिएका छन् । बिर्तामोडमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर ७ गते धरान, १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।