धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

title
सोमवार, पुस ३०, २०७५

काठमाडौ । आफूहरुका माग सम्बोधन गर्न सरकारलाई दवाब दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सोमवार बिहान धर्ना स्थलबाट ¥यालीसहित सिंहदरबारको मूलगेटतर्फ जबर्जस्ती अगाडि बढ्न खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमवार बिहान सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढ्न खोजेका थिए । त्यसलाई रोक्ने क्रममा प्रर्दशनकारी उत्तेजित भएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको हो । यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीहरुले आपत्ति जनाएका छन ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्तानलाई निःशुल्क पढाउने व्यवस्था गर्ने तथा परिवारका एक जना सदस्यलाई अनिवार्य सरकारी नोकरी दिनेसहितको विगतमा गरिएको सहमति कार्यान्वयनका लागि सरकारलाई दवाब दिन काठमाडौंमा अनिश्चितकालीन धर्ना दिने क्रम जारी राखेका हुन ।