धादिङमा ग्याँस बोकेको बुलेट दुर्घटना, दुई जनाको मृत्यु

title
आइतवार, कार्तिक २५, २०७५

धादिङ । सृजना लम्साल  । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । भारतको बरौलीदेखि काठमाडौँ जाँदै गरेको नेपाल ग्यासको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको हो ।

दुर्घटनामा बेनिघाट रोराङ –५ का ३५ वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपालीको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बिकले जानकारी दिनुभयो ।

गीता बेनिघाट रोराङ –५ का वडा सदस्य समेत हुन् । चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो । ग्यास बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ ।

ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, एसपी डम्बर बिक लगायतको टोली समेत पुगेका छन् ।