नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

title
सोमवार, कार्तिक ५, २०७५

काठमाडौं । नेपाल प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तीन लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दे दशैंको वेला नक्कली नोटको विगविगी भएको सूचना पाएपछि गरेको अपरेशनका क्रममा नक्कली नोट बरामद गरिएको जनाएको हो ।

प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएका मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठ, गोर्खाका नारायण श्रेष्ठ, मकवानपुरका साहिल थापा मगर, पर्साका राज श्रेष्ठ र काठमाडौं कागेश्वरी मनहरा घर भएका बिकास दोचे रहेका छन् ।

जसमध्ये मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठले यसअघि हातहतियार तथा खरखजाना मुद्धामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका छन् । उनीहरुलाई प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति मच्छेगाँउबाट पक्राउ गरेको हो ।

उनीहरुले नक्कली नोट छाप्ने कारखाना नै खोलेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ । दशैंको समयमा प्रायः नयाँ नोटको कारोबार हुने भएकाले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताउनुभयो ।

केहि नोटहरु बजारमा गईसकेको हुनसक्ने भएकाले थप अनुसन्धान जारी रहेको उहाँको भनाई छ । पक्राउ परेकाहरुको साथबाट नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली एक हजारका तीन थान, रु एक सयको तीन थान तथा गोर्खा फाईनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग कागज र एनआईसी बैंकको नक्कली चेक समेत बरामद गरिएको छ । नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

कसरी चिन्ने ?

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् तर, नक्कली नोट छाम्दाखेरि चिल्लो र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।