नक्कली पैसा प्रकरणपछि ‘लुट’ निर्माता वाग्ले दर्शकमाझ

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । नेपाली चलचित्र ‘लुट’बाट फरकपन कथावस्तु दिएर एकाएक दर्शकमाझ चर्चित बनेका चलचित्र निर्माता माधव वाग्ले चलचित्र ‘चंगा चेट’का लागि नक्कली पैसा छापेका कारण पक्राउ परेपछि विवादितसँगै चर्चित बने । उनी पक्राउपछि धरौटीमा रिहा भए पनि सार्वजनिक कार्यक्रममा भने उनको उपस्थिति निकै पातलो देखिन्थ्यो ।

उनले निर्माण गरेको चलचित्र चंगा चेट आगामी शुक्रबारबाट प्रदर्शनमा आउने भएपछि उनी अहिले चलचित्रको प्रचार प्रसारमा जुटेका छन् । सम्भवतः सार्वजनिक कार्यक्रममा अर्थात् दर्शकसामु पक्राउपछि उनी पहिलो पटक सार्वजनि भएका हुन् भन्दा फरक पर्दैन । चलचित्र ‘चंगा चेट’ मा समावेश ‘गोजीमा दाम छैन’ लोक लयको गीतले युटुवमा एक करोड पचास लाख भ्युज पाएसँगै चलचित्रको हाइप पनि एकाएक बढेको छ । यो खुशीयालीमा निर्माण पक्षले मंगलबार केक काटेर संगीतकारलाई नगद पुरस्कार समेत दियो ।

निर्मातद्वय सर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई पचास हजारको चेक हस्तान्तरण गरे । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने संगीतकार सिवाकोटीले बताए । गीतमा संगीतकार सिवाकोटीसँगै गायिका मेलिना राई र बाल गायक ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका सबै मुख्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् ।

प्रियंका कार्की, आयुष्मान देशराज, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रविन्द्र झा र सुरक्षा पन्तको फिल्ममा मुख्य भूमिका छ । दिपेन्द्र के.खनालको निर्देशन रहेको फिल्म ‘चंगा चेट’मा प्रदीप भारद्वाजको लेखन छ । फिल्म पैसाको पछि लाग्ने युवा पुस्ताको कथा बस्तुमा आधारित छ ।

त्यसो त निर्माता माधव वाग्ले र निर्देशक दिपेन्द्र के खनाल नेपाली चलचित्रका लागि स्थापित नाम हो । उनीहरुले निर्माण गरेका चलचित्रहरु बजारमा दर्शकको साथ पाउँदै आएको विगत छ । चलचित्रको मेकिङ, गीत संगीत र द्वन्द्वको पाटो अब्बल बनाउँदै वितरण कार्यलाई पनि उनीहरु आफैले गर्ने भएको हुँदा बजार व्यवस्थापन पक्ष पनि उनीहरुको बलियो देखिन्छ । यसभन्दा अगाडि प्रदर्शन भइसकेको चंगा चलचित्रसँग यो चलचित्रको नाम मिल्दोजुल्दो भए पनि कथावस्तु भने नितान्त फरक रहेको र दर्शकले भरपूर मनोरञ्जन लिने निर्माण पक्षले जनाएको छ ।

हास्य जनराको यो चलचित्रको सार्वजनिक गीतकै कारण दर्शक हलसम्म आउन बाध्य बनाउने निर्माण पक्षको अपेक्षा रहँदै गर्दा निर्माता वाग्लेले यो चलचित्रले आफूलाई जति विवादित बनाएको थियो चलचित्र प्रदर्शन पछि आफूले नक्कली नोट किन छापेको भन्ने विषयमा आम दर्शक छर्लङ्ग हुने दाबी गरे ।

त्यसो त नेपाली चलचित्रमा घटना–प्रतिघटना जतिसुकै घटे तापनि अन्ततः सहजै ओझेल पर्दै आएका कारण यो घटना पनि दर्शकको लागि कुनै ठूलो नरहने स्पष्ट पारे । आफू चलचित्रकै लागि दिनरात कटिवद्ध भइरहँदा तथा फरक भन्दा फरक कथावस्तुका चलचित्र दर्शकमाझ ल्याउँदा मात्र झमेलामा फसेको दाबी गरे । यसैबीच यही मितिमा निमात्री तथा अभिनेत्री रेखा थापाको चलचित्र मालिका पनि प्रदर्शनमा आउने भएका कारण चंगा चेटलाई चुनौती भने थपिएको छ ।