नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सकहरु आन्दोलित

title
आइतवार, पुस २२, २०७५

काठमाडौ । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोध गर्दै सरकारी चिकित्सकहरुले आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए । उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने र कर्मचारी समायोजनको प्रकियामा भाग नलिने निर्णय समेत गरेका छन् ।

स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई गरिएको उपेक्षा तथा अवमुल्यनको बिरोध स्वरुप घेराउ तथा धर्ना गरिएको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

पटक पटक विभेद गर्दै स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कार्य भैरहेको भन्दै शान्तिपुर्ण ध्यानाकर्षण गराईरहँदा समेत सरकारले वार्ता र सहमतीका लागि कुनै कदम नचालेकाले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा छोडेर अझ कडा आन्दोलनमा होमिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।