नवरात्रको पाँचौँ दिन , आज स्कन्दमाताको पूजा–आराधना

title
आइतवार, अशोज २८, २०७५

काठमाडौँ । आश्विन नवरात्रको पाँचौँ दिन आइतबार दुर्गा भवानीको पाँचौँ रुप शक्तिस्वरूपा भगवती स्कन्दमाताको विशेष पूजा गरिँदैछ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो ।

पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए र स्कन्दले नै दैत्यपति तारकासुरको वध गरेको मानिन्छ । स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुन् ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त छिन् । आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्छिन् तर देवीमा कमलको आसनमा पनि बस्ने गरेकी छन् ।

देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ।