नागढुंगा-मुग्लिन सडक चार लेनमा विस्तार गर्ने योजना रद्द

title
बुधबार, जेष्ठ १, २०७६

नागढुंगा–मुग्लिन (९५ दशमलव ५ किलोमिटर) सडक चार लेनमा विस्तार गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि रद्द गरेको छ ।

त्यसको विकल्पमा सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार त्यसबाहेक साबिककै सडकलाई मर्मत–सम्भार तथा नयाँ पुल थपेर यातायात आवागमनलाई द्रुत बनाइने योजना छ ।

निर्माण हुने तयारीमा रहेको नागढुंगा–सिस्नेखोला टनेलपछि धार्केसम्म ११ किलोमिटर लम्बाइको छुट्टै नयाँ सडक निर्माण गरिनेछ । त्यो सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ ।

अहिलेकै सडकलाई विस्तार गरेर चार लेन बनाउन कठिनाइ भएको सडक विभागको भनाइ छ ।

विभागले गरेको अध्ययनअनुसार पहिरो जाने, विस्तार कार्यका लागि लामो समयावधि लाग्ने र खर्च बढी हुने तथा चलिरहेको सडकमा काम गर्दा धेरै अवरोध आउनेछ । त्यसबाट बच्न नयाँ सडक निर्माण गर्ने तयारीमा विभाग छ ।

नयाँ पत्रिका दैनिकमा समाचार छ