निखिलको भिलेन रुपलाई शिल्पाको साथ

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं । आगामी पुस २७ बाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’मा नायकको रुपमा निखिल उप्रेती रहेका छन् । चलचित्रमा निखिल नायकको रुपमा रहे पनि चलचित्रको नाम नै भिलेन भएको हुँदा निखिललाई नयाँ अवतारमा देख्न पाइने भएको छ ।

त्यसो त केही दिन अघि निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको थियो भने प्रचार प्रसारकै क्रममा निर्माण पक्षले अहिले चलचित्रको गीत सार्वजनिक गरेको हो । उक्त गीतमा नायिका सिल्पा पोखरेलको अभिनय रहेको छ । ‘च्यानाकुटी झ्याई झ्याई…’ बोलको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको छ भने कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले कोरसका साथ नृत्य गरेका छन् ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् । गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको छ । गीतको अत्यमा अभिनेता निखिल एक्सन अवतारमा देखिएका छन् । द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ ‘शितल’ले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

राजकुमार श्रेष्ठ सह–निर्मातामा छन् । निखिल, शिल्पा र कपिलको अलवा चलचित्रमा निशा अधिकारीको पनि मुख्य भुमिका रहेको छ । मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको चलचित्रमा शुक्रराज शाहको द्वन्द्व छ ।