निराशाकाबीच आशातर्फ श्रृंखला, अन्तिम ३० मा स्थान सुरक्षित, जितिन् मल्टिमिडिया र व्यूटी विथ पर्पोज दुवै अवार्ड

title
मङ्लबार, मंसिर १८, २०७५

काठमाडौं । चीनमा जारी मिस वल्र्ड २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी श्रृंखला खतिवडाले २ महत्वपुर्ण अवार्ड जित्दै अन्तिम ३० को स्थान सुरक्षित गरेकी छिन् ।

१ सय १९ देशका सुन्दरीहरुलाई पछि पार्दै श्रृंखलाले मल्टीमिडिया र ब्युटी विथ पर्पोज दुवै अवार्ड जितेकी हुन् । यो जितसंगै श्रृंखला मिस वर्ल्ड फाइनलको शीर्ष ३० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी हुन् । मिस वर्ल्ड अहिलेसम्म कुनै पनि नेपाली सुन्दरीले कुनै अवार्ड जितेका थिएनन् । श्रृंखलाले नयां किर्तिमान राख्दै २ वटै अवार्ड जित्न सफल भएपछि श्रृंखलाले सामाजिक सञ्जालमा छोटो भिडियो सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छन् । उनले सहयोगका लागि सबै शुभचिन्तकप्रति कृतज्ञता पनि प्रकट गरेकी छन् । मिस वर्ल्ड२०१८ को फाइनल यहि डिसेम्बर ८ मा आयोजना हुंदैछ ।

त्यसो त श्रृंखला ‘हेड टु हेड’ विधामा पराजित भएपछि उनको आगामी यात्रा कतै टुंगिएको पो हो कि भन्ने प्रश्न समेत नउठेका होइनन् । तर, यस विषयमा श्रृंखला स्वयंले सम्भावना नसकिएको झिनो आशा अझै बाँकी रहेको बताएकी थिइन् ।  उनी ‘हेट टू हेड’ विधामा पराजित भए पनि शुभेच्छुकहरुले दिएको सबै भोट अर्थहीन भने बनेन ।

‘मल्टिमिडिया अवार्ड’ विधा अन्तर्गत गणना भएको भोटकै आधारमा श्रृंखला मल्टिमिडिया अवार्ड जितेर सिधै टप–३० मा पुग्न सफल भइन् । मल्टिमिडिया र ‘व्यूटी विथ द पर्पस्’ बाट एक–एक जना छानिने प्राबधान भए पनि यी महत्वपूर्ण दुवै अवार्ड नेपाली चेली श्रृंखलाले जित्न सफल भइन् ।

जारी मिस वल्र्ड अन्तर्गत ‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिताबाट ‘टप–१५’ छनोट हुनेछन् । त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन् । यसरी छनोट भएका ‘टप–५’ बाट तीन जना क्रमैसँग मिस वल्र्ड, फस्र्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन् । बाँकी दुई जना भने टप पाइभको प्रतिस्पर्धीमै सिमित हुनेछन् ।