निरुता नेपालमा, भन्छिन् अब नेपाली चलचित्रलाई पुनः निरन्तरता दिन्छु

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । नेपाली चलचित्रमा एक दशकभन्दा लामो समय राज गरेकी नायिका निरुता सिंह नयाँ चलचित्रका लागि नेपाल आएकी छिन् । झण्डै एक दशकदेखि भारतमा बस्दै आएकी निरुता चलचित्र ‘दाल भात तरकारी’को छायांकनका लागि नेपाल आएकी हुन् ।

किरण केसीको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिर १ गतेबाट सुरु हुँदैछ । निरुताले वैशाखमा नेपाल आउँदा चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि केमियो भूमिका निर्वाहा गरेकी थिइन् । उनको नेपाली चलचित्रमा पुनरागमन सुखद् रह्यो । चलचित्रमा छोटो भूमिका निभाएको भए पनि दर्शकबाट निकै माया पाइन् ।

त्यसो त निरुताले पहिले देखि नै राम्रो भूमिका पाए नेपाली चलचित्रमा पुनरागमन गर्ने बताउँदै आएकी थिइन । चलचित्र नाइ नभन्नु ल ५ बाट नेपाली चलचित्रमा पुनरागमन गरे पनि उनी चलचित्रका लागि पहिल्यै देखि अनुबन्धित भएकी थिइनन् । एक कार्यक्रमका लागि नेपाल आएको समयमा उनले सो चलचित्रमा भूमिका निर्वाह गरेकी थिइन । त्यसैले नेपाली चलचित्रमा निरुताको पुनरागमन ‘दाल भात तरकारी’बाट हुनेछ ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै निरुताले भनिन्–‘म त मदनकृष्ण दाई, हरिवंश दाइको सानैदेखि फ्यान हुँ । उहाँहरुसँग काम गर्ने सपना पहिलेदेखि नै थियो । अहिले आएर पूरा हुँदा अत्यन्त खुशी छु ।’

निरुता यो चलचित्रमा कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिँदैछिन् । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बिषयमा निरुताले भनिन्–‘अब त लगातार काम गर्छु । विचमा केही पारिवारिक समस्या आएको थियो । समस्याको समाधान गरेर म नेपाल आएकी हुँ । अब, निरन्तर चलचित्र खेल्छु ।’ निरुताले बुबा बिरामी भएकै कारण चलचित्र ‘लभ स्टेशन’ समेत छाडेकी थिइन् ।

त्यसो त निरुतालाई माया गर्ने दर्शकको ठूलो भीड छ । दशक अगाडिकी निर्विकल्प अभिनेत्री हुन्– निरुता । एक सय बढी फिल्ममा अभिनय गरिसकेकी उनले अधिकांश चलचित्र हिट दिएकी थिइन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमनसँगै उनी पर्दाबाट हराइन् । वर्षौसम्म पर्दामा नदेखिँदा निरुतालाई नेपाली दर्शकले ‘मिस’ नगर्ने कुरै थिएन । अन्ततः दशकपछि पनि उनको क्रेज देखिएको थियो ।

उनको अभिनय रहने नयाँ चलचित्र दाल भात तरकारीको हालै शुभ मुहूर्त गरिएको थियो भने मंशिर १ गतेबाट चलचित्र टोली फ्लोरमा निस्किदैछ । मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माणमा दाल भात तरकारी बन्न लागेको हो । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट प्रदर्शनमा ल्याइने योजनाका साथ निर्माण पक्ष खटिएको छ ।