निर्मलाका हत्यारा सरकारले पक्राउ गर्न सकेन, अब हामी गर्छौ– प्रकाण्ड

title
शनिबार, मंसिर ८, २०७५

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताउनुभएको छ ।

पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरिएको जनसभामा प्रकाण्डले निर्मला पन्तका हत्यारालाई ओली सरकारले लुकाएको र अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताउनुभयो । ओली सरकारले हत्यारालाई लुकाउने प्रयास गरेपनि आफ्नो पार्टीले सार्वजनिक गरेर जनकारबाही समेत गर्ने उहाले चेतावनी दिनुभयो ।

उहाले महिला हिंसा, बलात्कार र हत्याका घटनाले जनता आजित भइसक्दा समेत भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले आवश्यक ध्यान नदिएको आरोप समेत लगाउनुभयो । त्यस्तै उहाले वर्तमान सरकार भ्रष्टाचार लिप्त भएको टिप्प्णी पनि गर्नुभयो । प्रकाण्डले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको तर्क गर्नुभयो । हिजो केही नभएकाहरु आज धनी भएको भन्दै उहाले राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको बताउनुभयो । उहाले केपी शर्मा ओली सरकारले आफ्नो पार्टीलाई अघोषित घोषणा गरेर दमनमा उत्रिएको आरोप समेत लगाउनुभयो ।

कार्यक्रममा पुर्नगठित एकीकृत नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले केपी ओली नेतृत्वको सरकार खाल्टोमा भासिइसकेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ९ महिनामै नांगिएको बताउनुभयो ।