निर्मला पन्तका बाबुको उपचारमा संलग्न चिकित्सक यसो भन्छन्

title
सोमवार, मंसिर १०, २०७५

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबु यज्ञराज पन्तको काठमाडौंमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पन्तको स्वास्थ्य अवस्थाका विषयमा उपचारमा संलग्न चिकित्सकहरुले तनावको असर देखिको बताएका छन् ।

बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको उपचारमा संलग्न मानसिक रोग विभागका डा। सरोज ओझाले जानकारी दिए ।

उनले भने, ‘अहिले नै के भएको हो र अवस्था के छ भन्ने बारे केही भन्न सक्दैनौँ । प्राथमिक रुपमा तत्कालका लागि मेडिसिन विभागले हेरेको र त्यहाँ फिजियोलोजिकल अवस्थाको पूर्ण परीक्षण भएर रिपोर्टहरु आएपछि हामीले उहाँको अवस्था निरीक्षण गर्नेछौँ । तर अहिलेलाई के चाहिँ भन्न सकिन्छ भने उहाँमा तनावको असर देखिएको छ ।’

तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि अहिले अवस्था सामान्य रहेको र आफूहरुले मेडिसिन विभागसँगको सहकार्यमा काम गरिरहेको डा। ओझाले बताए ।