निर्मला पन्तका हत्याको विषयमा गम्भीर हुन सरकार तथा संसद्लाई कांग्रेसका सांसद बडुको ध्यानाकर्षण

title
सोमवार, भदौ १८, २०७५

काठमाडौ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा गम्भीर हुन सरकार तथा संसद्को ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधीसभाको बैठकमा सांसद बडुले कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको भन्दै त्यही कारणबाट एक जना किशोरकोसमेत ज्यान गएको बताउनुभयो । कञ्चनपुर घटनाको स्थलगत अनुमगन गरी फर्किएका सांसद बडुले स्थलगत अनुगमनबारे जानकारी गराउँदै दोषीलाई कारवाही गर्नसमेत माग गर्नुभयो ।

उहाँले उच्च पहुँचवाला बलात्कारी भए पनि छोड्न नहुने चेतावनी स्थानीयवासीले दिएको भन्दै कञ्चनपुरमा थप आन्दोलन गर्न नपरोस् भनेर सरकारलाई कञ्चनपुर बासीले आग्रह रहेको सुनाउनुभयो । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया पन्तको घटनामा प्रहरी प्रशासन नै शंकाको घेरामा रहेको भन्दै उहाँले उच्चस्तरीय छानबिन समितिमाथि सबैको ध्यान केन्द्रित भएको बताउनुभयो ।

बैठकमा राजपाका सांसद प्रमोद साहले प्रहरी हिरासतमा बिरामी भइ उपचारका क्रममा मृत्यु भएका राममनोहर यादव बारे निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भदौ ७ गते बर्दियाको सदरमुकाम गुलरियामा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका यादवलाई राज्यद्रोहको मुद्दा लगाएर थुनामा राखिएको थियो ।

थुनामा राखिएकै क्रममा बिरामी भएका यादवको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शनिबार बिहान मृत्यु भएको थियो ।