निर्मला पन्तको अनुसन्धानमा प्रशासनको मिलोमतोमै प्रमाण नष्ट गरेको मावनअधिकार संगठनको ठहर, शून्यबाट अनुसन्धान थाल्न माग

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । नेपाल मावनअधिकार संगठनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानका क्रममा प्रशासनको मिलोमतोमै प्रमाण नष्ट गरेको ठहर गरेको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनले स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै निर्मला पन्त हत्याका प्रमाणहरु नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग समेत गरेको छ ।

त्यस्तै संगठनले घटनामा निर्दोषलाई यातना दिईएको, प्रहरी प्रशासन नै घटनाको अनुसन्धान दवाउन लागेको, न्याय माग गर्नेहरुलाई उत्तेजित पार्ने काम भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै बलात्कार र हत्या जस्तो गम्भीर घटनाको पनि राजनीतिकरण गरिएको संगठनको भनाई छ । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले निर्मला पन्त हत्या घटना नियोजित भएका कारण पीडित परिवारले न्याय चाँडो पाउनुपर्ने बताउनुभयो ।

संगठनले प्रहरी प्रशासन, एसपी डिल्लिराज बिष्ट, उनका छोरा, मेयरका भतिजा, नक्कली मामा बनेर निर्मलाको लास जलाउने तिर्थ भण्डारीमाथि प्रशासनले कुनै किसिमको छानविन नगरेको आरोप पनि लगाएको छ ।