निर्मला पन्तको हत्यारालाई कानूनी कारबाही गर्न काँग्रेस सभापति देउवाको माग

title
शनिबार, कार्तिक १०, २०७५

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको उहाको भनाई छ ।

यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार लाग्न नहुने भन्दै उहाले बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताउनुभयो । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गर्नुभएको थियो ।