निर्मला पन्त प्रकरणः डीएनए रिपोर्ट मिलेन

title
आइतवार, अशोज १४, २०७५

चन्द्रकान्त जोशी, कञ्चनपुर
कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपोर्ट सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उहाँका छोरा किरण राज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डीएनए रिपोर्ट सार्वजनिक भएको जानकारी दिएका हुन् । प्रहरी नायव उपरीक्षक ओझाले तीन जनाको रिपोर्ट मेल नखाएको बताएका छन् ।

गत साउन १० गते हत्या गरी उखुबारीमा फालिएका निर्मलाको साउन ११ गते बिहान शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ बर्षीया दिलिपसिंह विष्टको पनि डीएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि हिरासत मुक्त गरिएको थियो ।

भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक विष्टकै डीएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केहीसमय अघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समुहले निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।