निर्मला पन्त हत्या प्रकरण : निर्मलाकी साथी रोशनी र उनकी दिदी प्रहरी नियन्त्रणमा

title
शनिबार, भदौ ९, २०७५

कञ्चनपुर । कञ्चनपुर भिमदत्त नगरपालीका २ की १३ बर्षीया निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नयां अनुसन्धान टोलीले हत्या हुनु अघिल्लो दिन होमवर्क गर्न र नोट लिन भनि गएकी साथी रोशनी बम र उनकी दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो ।

प्रहरीले बालिकाको हत्यामा संलग्न रहेको भन्दै आरोपीका रुपमा नक्कली अभियुक्त सार्वजनिक गरेपछि कञ्चनपुरमा हिंसात्मक झडप भई रहेको छ । घटनाले उग्र रुप लिएपछि गृहमन्त्रालयले छानबिनका लागि गठन गरेको समितिले शुक्रबार बाटै अनुसन्धान थालेको हो । समितिले अनुसन्धान थाले कै दिन हिजो महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ वर्षीय किशोर सन्नी खुनाको मृत्यु भएको थियो । गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेका छन् ।

मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् । यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । खुनाको मृत्युपछि स्थिती नियन्त्रणमा लिन हिजो बेलुका आठ बजेदेखि लगाइएको कर्फ्यू अझै हटाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बिहान सर्वपक्षीय बैठक बसे पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि एक महिनादेखि आन्दोलीत् स्थानीयले प्रदर्शन रोकेका छैनन् ।