निर्मला हत्याकाण्डबारे बोले आइजीपी खनालः एसपी दोषी देखिए जेल हाल्छु

title
बुधबार, अशोज १०, २०७५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रहरीले गम्भीर गल्ती गरेको स्वीकार गर्नुभएको छ । सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले हत्यापछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान गर्नुपर्ने लापरवाही गरेको बताउनुभएको हो ।

यस्तै मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर प्रहरीले ठूलो त्रुटी गरेको गृहमन्त्रीले बताउनुभयो । उहाले सरकारले अझै घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले जोकोही दोषी भए पनि नउम्कने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

थापाले रौतहट र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइ सकिएको जानकारी दिनुभयो । उक्त घटनालाई सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले पनि गम्भीरतापूर्वक लिएको दोषी उम्काउन राजनीतिक संरक्षण नहुने जिकिर गर्नुभयो । सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको उहाले दाबी गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले नेपाल प्रहरीमा चेन अफ कमाण्ड कमजोरी देखिएको भन्दै ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै कसर बाँकी नराखी काम भएको छ र चेन अफ कमाण्डमा कमजोरी नभएको दाबी गर्नुभयो । उहाँले निलम्बित एसपी डिल्लीराज विष्ट दोषी देखिए जागिरबाट बर्खास्त गर्नेमात्रै होइन, जेल समेत हाल्ने बताउनुभयो ।

खनालले कञ्चनपुर घटनामा प्रहरीको गम्भीर त्रुटि देखिएकाले कारबाहीको प्रकृया अगाडि बढाइसकेको जानकारी दिनुभयो । सांसदहरुले सरकार बलियो हुँदा पनि हत्या, हिंसा, बलात्कारका घटना कम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।