निर्मला हत्याकाण्ड: भेजाइनल स्वाब डीएनएसँग मेल खाएन

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भेजाइनल स्वाब’ डीएनएसँग मेल नखाएपछि शङकाको घेरामा राखिएका चार ब्यक्ति पनि निर्दोष देखिएका छन् । नेपाल प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान गर्न निलम्बित एसपी डिल्ली विष्ट, उहाँका छोरा किरन विष्ट, भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको ‘डीएनए’ परीक्षण गरेको थियो ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा चारै जनाको डीएनए परीक्षण गर्दा बालिका निर्मलाको डीएनएसँग मेल नखाएको बताउनुभयो । अर्का अभियुक्त दीलिप विष्ट जिल्ला अदालत कञ्चनपुरको आदेशले यसअघि नै छुटिसकेका छन् । निलम्बित एसपी विष्ट, उहाँका छोरा र मेयरका भतिजाको ‘डीएनए’ परीक्षण पीडित परिवारको आग्रहमा गरिएको जानकारी प्रवक्ता क्षेत्रीले दिनुभयो । निर्मला हत्या घटनामा विष्टको छोरा र मेयरको भतिजाको कुनै सम्वन्ध देखिदैन ।

प्रहरीले ‘भीड’को मागअनुसार अपराध अनुसन्धान गर्ने होइन, उहाँले भन्नुभयो,‘अहिले त ‘भेजिनल स्वाब’ पनि नक्कली भन्न थालेछन् ।’ नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा सुरक्षित ‘भेजिनल स्वाब’ निर्मलाको नै भएको दावी उहाँले गर्नुभयो । निर्मला हत्या घटनाको अनुसन्धानमा प्रहरीको कमजोरी भएको पुनः स्वीकार्दै प्रवक्ता थापाक्षेत्रीले निर्मलाको ‘डीएनए’ पुष्टि गर्ने आफूहरूसँग थुप्रै आधार तथा प्रमाण रहेको बताउनुभयो । निर्मला हत्या अपराधअनुसन्धानको वलियो प्रमाण नै ‘भेजिनल स्वाब’ भएको उहाँले स्पष्ट गर्नुभयो ।

निर्मलाको साथी रोशनीको बम दिदी बहिनी, एसपी विष्टको छोरा र मेयरको भतिजाबीच कुनै सम्वन्ध देखिँदैन उहाँले भन्नुभयो–उनीहरुबीच आधुनिक सूचना प्रविधि तथा सामाजिक सञ्जाल लगायत अन्य कुनै किसिमबाट सम्पर्क भएको प्रमाण उपलब्ध हुन सकेन । ‘भीड’को मागअनुसार कसैलाई जवरजस्ती फसाउनु पनि महाअपराध हो, उहाँले थप्नुभयो, “एसपी विष्ट लगायतका अन्य प्रहरी अधिकारी कारवाहीको भागिदार बन्नुको मुख्य कारण पनि यही हो । निर्मला हत्या अपराधमा स्थानीय प्रहरीले दिलिपसिंह विष्टलाई जवरजस्ती फसाएको आरोप छ ।”
यसैबीच, निर्मला हत्याको अनुसन्धान गर्न महेन्द्रनगरमा तैनाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’का वरिष्ठ प्रहरी उपरीक्षक ‘एसएसपी’ ठाकुरप्रसाद ज्ञवालीको संयोजकत्वमा गठित अनुसन्धान टोलीले नयाँ ढङ्गले अनुसन्धान सुरु गरेको छ ।

साइकल बरामद भएको स्थानभन्दा करीब सय मिटरभित्रको उखुवारीमा निर्मलाको बलात्कारपछि हत्या आफैमा रहस्मय भएको भन्दै समितिले निर्मलाका आफन्त, छिमेकी र चिनजानका साथीभाइबाट अनुसन्धान सुरु गरेको हो । स्थानीय प्रहरीले मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरेका दीलिपसिंह रिहा भएपछि ब्युरो प्रहरीले अनुसन्धानलाई थप नयाँ ढङ्गले अगाडि बढाएको हो । अनुसन्धानको क्रममा महेन्द्रनगरमा रहेका एक प्रहरी अधिकारीले दावाका साथ भने,‘अपराधीको पहिचान गरेरै छोड्छु ।’

निर्मलाले मोवाइल र फेसबुक केही पनि प्रयोग गरेको देखिँदैन । त्यस्तैं, साइकल बरामद भएको स्थानभन्दा घटनास्थल करीव सय मिटर टाढा भएकाले हत्या योजनाबद्ध नै भएको भनाइ ती अधिकारीको छ । निर्मलाको बलात्कारमा एकजना र हत्यामा दुईजनाको संलग्नता देखिएको छ । उनीहरूले नै निर्मलालाई सय मिटर टाढाको उखुघारीमा फकाएर वा फसाएर लगेको हुन सक्ने जनाइएको छ । ती प्रहरी अधिकारीले भने–अर्कै स्थानमा हत्या गरी त्यहाँ शव फालिएको भने पक्कै होइन । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।