निर्मला हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विप्लव माओवादी विरोध प्रदर्शन

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन भएको छ ।

हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले प्रदर्शन गरेको हो ।

काठमाडौँको शान्तिबाटिकामा भेला भएका जनसम्पर्क मञ्च नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानी लगायत देशका विभिन्न शहरहरुमा दिनहुँजसो प्रदर्शन भैरहेका छन् ।

पछिल्ला केहि प्रदर्शन राजनीतिक दल, दलका युवा संगठनहरुले गर्दै आएका छन् । आज काठमाडौँमा प्रदर्शन गरेको बिप्लव नेतृत्वको नेकपाले सरकारले बलात्कार र हत्यामा संलग्न लाई कारबाही नगरे आफ्नो पार्टीले गर्ने भन्दै चेतावनी पनि दिएको छ ।