निर्मला हत्या प्रकरणः ‘अब पत्रकार र कर्मचारी तारो’

title
बुधबार, अशोज १७, २०७५

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन हुँदै गर्दा पुनः कञ्चनपुरमा आन्दोलन शुरु भएको छ ।

आन्दोलनकारीले सुदूरपश्चिम प्रदेश सरकारको कार्यालय घेराउ गरी मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । ६९ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै आन्दोलनलाई दोहो¥याउनु परेको आन्दोलन समिति संयोजक हेलेन श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार नेविसंघले गरेको बन्द र त्यहाँका बासिन्दाले गरेको आन्दोलनले ठूलो जनधनको क्षति भएको छ । संघका कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालय तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेका छन् । वकिल कार्यालयका चार कर्मचारीमाथि हातपात भएको छ । यसैबीच तोडफोड भएको भिडियो खिचिरहेका सगरमाथा टेलिभिजन कञ्चनपुर सहकर्मी चन्द्रकान्त जोशीमाथि आन्दोलनकारीले आक्रमण गरेका छन् ।

आन्दोलनकारीले जोशीको साथमा रहेको क्यामेरा खोसेर फुटाएका छन् । भने अान्दाेलनका क्रममा खिचिएकाे फुटेज डिलिट गर्न लगाएका थिए । आन्दोलनकारीले पार्किङ गरेर राखेको कार्यालयको बा २ झ २७१५ को कारको सिसा फोड्नुका साथै कार्यालयका फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामान तोडफोड गरेको जिल्ला न्यायधीवक्ता खेमराज भट्टले जानकारी दिनुभयो ।

जिल्ला न्यायधिवक्ता भट्टका अनुसार नायब सुब्बा एवम् सूचना अधिकारी कृष्णप्रसाद भट्ट, कम्प्युटर अपरेटर मञ्जु भट्ट, कार्यालय सहयोगी धनवीरसिंह भाट र कार्यालयका सवारी चालक यज्ञराज जोशीमाथि हातपात भएको छ ।