निर्मला हत्या प्रकरणः थप ५ प्रहरी निलम्बनमा

title
आइतवार, भदौ ३१, २०७५

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा मुलुकभर प्रदर्शन भएको छ । जिम्मेवारपूर्वक अनुसन्धान नगरेको भन्दै थप पाँचजना प्रहरी निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयले यसअघि नै सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा पाँचजना प्रहरीलाई निलम्बन गरिएको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको प्रेस विज्ञप्तीमा कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्या र त्यसपछिका विकसित घटनाहरुका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरिसकेको जानकारी दिएका छन् ।

बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हुँदा यअसअघि नै निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, प्रहरी निरीक्षक ऐकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरी अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिइएको विज्ञप्तीमा उल्लेख छ ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला पन्त ११ गते नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले मुख्य अभियुक्त भनेका दिलिपसिंह विष्ट र अनुसन्धानको घेरामा रहेका बम दिदीबहिनी रिहा भएपछि अहिलेसम्मको अनुसन्धान शून्य अवस्थामा पुगेको छ ।