निर्मला हत्या प्रकरणः दुवै ठाउँमा डीएनए परीक्षण

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको बताएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा निलम्बित एसपी विष्टसहित तीनै जनाको डीएनए परीक्षण गरिएको थियो । तर, परीक्षण प्रहरी अस्पतालमा मात्रै गरिएको भन्दै विश्वसनीय नभएको आवाज उठिरहेको छ ।

आइतबार मात्रै तीनै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको विवरण सार्वजनिक भएको थियो । रिपोर्टका विषयमा चौतर्फी प्रश्न उठ्न थालेपछि प्रहरी प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै दुवै प्रयोगशालामा ल्याब टेस्ट गरिएको बताएको हो ।
‘निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा एसपी विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालमा मात्र नभएर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गरिएको,’ प्रहरी प्रधान कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्मला बलात्कारपछि हत्या प्रकरणमा यसअघि पक्राउ परेका दिलिपसिंह विष्टको डीएनए जाँचको रिपोर्टसमेत नेगेटिभ आएको थियो ।