निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई एक साता म्याद थप

title
शुक्रबार, भदौ १५, २०७५

कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई विहीबारबाट एक साताको म्याद थप गरिएको छ।

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो। घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिएकी निर्मलाका स्कूले साथी हुन्। उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो।

यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो।

म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ।

यसैबीच कञ्चनपुरमा केही दिनदेखि स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू आजबाट हटाएको छ। गत बिहीबार आन्दोलनले उग्ररुप लिएपछि महेन्द्रनगरमा कर्फ्यू लगाइएको थियो भने शुक्रबार प्रहरीको गोली लागेर सनि खुनाको मृत्यु भएपछि कर्फ्यूलाई थप कडा बनाइएको थियो। केही दिन यता प्रशासनले रातिको समयमा लगाउँदै आएको कर्फ्यू हटाएको हो।