निर्मला हत्या प्रकरणः सीआईबीले समात्यो काठमाडौंमा एक युवालाई

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । निर्मला पन्तको बलात्कारपछी हत्या प्रकरणमा संलग्न भएको आशंकामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेको भनिएका ती युवाको परिचय प्रहरीले गोप्य राखेको छ ।

प्रहरी स्रोतका अनुसार निर्मलाको हत्यापछि काठमाडौंमा लुकेर बस्दै आएका भीमदत्त नगरपालिकाका १८ बर्षीय प्रदीप रावललाई सिआईबीले मंगलबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । बुधवार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अचानक केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्नुले पनी बहुप्रतिक्षित निर्मला बलात्कार तथा हत्या प्रकरणको पटाक्षेप हुन लागेको संकेत गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एक सुरक्षा अधिकारीले प्रहरी महानिरीक्षक बुधवार साँझ केन्द्रिय महाराजगञ्जस्थित अनुसन्धान ब्युरोको कार्यालयमा गएको पुष्टि गरेका छन् । निर्मलाको घर नजिकै स्थायी घर भएका रावल लागु औषध सेवनकर्ता समेत रहेको भनाई छ । प्रहरीले डिएनए परिक्षणका लागी रावतको ‘ब्लड स्याम्पल’ विधी विज्ञान प्रयोगशालामा पठाएको छ ।

‘एक जना शंकास्पद युवा पक्राउ परेका छन्,’ केन्द्रिय अनुसन्धान ब्युरोका एक अधिकृतले भने, ‘तर, यो अनुसन्धानको सामान्य प्रक्रिया हो, यसअघि पनि यसरी पक्राउ परेका धेरै मानिसहरुलाई प्रमाण नपुगेपछि हामीले छाडेका थियौं ।’ कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको थियो ।