निर्मला हत्या प्रकरणमा प्रहरीको दादागिरीः यी किशोरीलाई पनि प्रहरीले चरम यातना दिएको खुलासा

title
बुधबार, भदौ १३, २०७५

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ । आजको नयाँ पत्रिका दैनिमा छापिएको छ ।

ज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसदमा दिएका थिए । अर्को दिन ज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्‍यो । उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो ।

तर, खानसमेत नदिई बिहान करिब ११ बजे उनलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्कालीन एसपी (जो हाल निलम्बित छन् डिल्लीराज विष्टले भने उनलाई धम्की दिए, ‘निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु ।’

सोच्दै नसोचेको विपत्ति आइलागेपछि हेमन्ती अत्तालिइन् । तर, उनले आफ्नो संलग्नता छ भन्न मानिनन् । त्यसपछि उनलाई सिसाको एउटा सानो झ्याल भएको अँध्यारो कोठामा राखियो । ‘१५–१५ मिनेट बिराएर सादा पोसाकका प्रहरीहरू आउँथे । गल्ती मानिस् भने बच्छेस्, मानिनस् भने मर्छेस् भनेर धम्क्याउँथे,’ उनले नयाँ पत्रिकासित भनिन् ।

उनलाई बेलुका छाडिन्थ्यो, तर बिहान फेरि गिरफ्तार गरिन्थ्यो । यो क्रम पाँच दिनसम्म चल्यो । दोस्रो दिन उनी बाबा गोकुलेश्वर भट्टको अटोमा आफैँ प्रहरी कार्यालय जाँदै थिइन् । तर, बाटैमा उनलाई नियन्त्रणमा लिइयो र मोटरसाइकलको बीचमा राखेर चौकी पुर्‍याइयो । र उसैगरी सोधपुछका नाममा धम्क्याइयो । ‘मेरो साथीले बलात्कार गरेर हत्या गरेको हो, मैले सघाएकी हुँ भन्, हामी तँलाई जोगाउन कोसिस गरौँला । नत्र त गइस्,’ सोधपुछ गर्न आउने सादा पोसाकका प्रहरी धम्क्याउँथे ।

तेस्रो दिन त ज्यादतीको पराकाष्ठा नै भयो । उनी क्याम्पसमा पढिरहेकी थिइन् । कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखे । उही अँधेरो हिरासतमा लगियो । उनको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् । ती बालिकालाई प्रहरीहरूले तथानाम भने ।

त्यसपछि उनलाई बाहिर ल्याइयो र तत्कालीन एसपी डिल्लीराजसामु खडा गरियो । डिल्लीराजले भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ प्रहरीले हेमन्तीको फेसबुकको पासवर्डसमेत लिइसकेको थियो ।

चौथो दिन पनि उनलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा नै उल्टेर प्रहरी कार्यालय पुग्यो । त्यसैले पाँचौँ दिन न प्रहरीले उनलाई बोलायो, न पक्रन नै आयो ।

‘तर, पाँचौँ दिन म जब क्याम्पस गएँ, कुनै पनि सहपाठी बोलेनन् । हिरासतमा भन्दा पीडा कक्षाकोठामा भयो । ओझेल परेर निकैबेर एक्लै रोएँ,’ उनी भन्छिन् ।

उता प्रहरीले पिछा छाडेको थिएन । एक दिन बिराएपछि छैटौँ दिन उनलाई फेरि जिप्रका पुर्‍याइयो । धामी थरका सइले कागज तयार पारिसकेका थिए । उनले कागजमा लेखिएकोे व्यहोरा पढ्न चाहिन् । तर, सइले भने, ‘मलाई ग्यास्ट्रिक छ । खाजा खाने वेला भयो, छिटो हस्ताक्षर गर,’ सईले हप्कीदप्की गरेपछि हस्ताक्षर गरिदिइन् ।

कागज गराएर उनलाई एसपी डिल्लीराजसामु उपस्थित गराइयो । एसपीले पहिलेजस्तै हप्काए, ‘यो कुरा कतै बाहिर नजाओस् । आफ्नो मात्र होइन परिवारको पनि हेक्का राख्नु ।’ यति भनेपछि उनलाई बिदा गरियो ।

२३ साउनबाट उनले प्रहरीको फन्दाबाट मुक्ति पाएकी छिन्, तर त्यो यातनाले उनलाई तर्साइरहन्छ । नियमित क्याम्पस जान सकेकी छैनन् ।

तर, चरम यातना दिँदा पनि प्रहरीले हेमन्तीबाट चाहेजस्तो बयान लिन सकेन । उनले आफूले गर्दै नगरेको अपराध स्विकार्नै नसक्ने अडान दोहोर्‍याइरहिन् । उनकी सानिमा गीता भन्छिन्, ‘अल्ली हक्की छ । गल्ती गर्दिन र डराउँदिन पनि । अरू कुनै केटी भए निराशामा पुगेर अर्को दुर्घटना पनि हुन सक्थ्यो । प्रहरीको ज्यादती देखेर त हामी नै आत्तिसकेका थियौँ ।’ आमा मायाले थपिन्, ‘धन्न मेरी छोरी आँटिली थिई र यत्रो जुलुम सही । हाम्रो त परान निस्कन लागेको थियो ।’

यातना पाउँदा पनि उनले हिम्मत हारिनन् । पाँच दिनको धम्कीपूर्ण सोधपुछमा प्रहरीले उनलाई अनेकथरी प्रश्न गर्थे । अटो ड्राइभरकी छोरी, दुईकोठे घर भएकी तैँले मोबाइलमा पैसा कसरी हाल्छेस् रु फेसबुक कसरी चलाउँछेस् रु
‘तँ कहाँ छेस्, थाहा छ तलाई रु’ इन्स्पेक्टरले सोधेका थिए । उनको जवाफ थियो, ‘जिल्ला प्रहरी कार्यालयमा छु । एकजना इन्स्पेक्टरको सामुन्ने ।’
‘तँलाई बिए, एमए पढ्न मन छैन ?’
‘छ नि । मलाई त पिएचडी नै गर्ने मन छ ।’
‘त्यसो भए हामीले भनेको किन मानिरहेकी छैनस् ? निर्मलाको बलात्कार र हत्यामा आफ्नो हात रहेको स्वीकार, नत्र जेलमा सडाइदिन्छौँ । अनि पढ्लिस् बिए ।’
निर्मलाले भनिन्, ‘मेरो कुनै गल्ती छैन । मलाई तपाईंहरूले कसरी जेलमा सडाउनुहुन्छ, हेरौँला ।’ कागज गराएर छाड्ने दिन ती इन्स्पेक्टरले भनेका थिए, ‘तिमीले हामीले भनेको मानेको भए यो केस उहिल्यै सल्टिन्थ्यो । अब कति दिन उल्झिने हो थाहा छैन । तर, तिमी हक्की रहिछौ, भविष्यमा नेता बन्ने छाँट छ ।’

हेमन्तीलाई प्रहरीले निकै कमजोर आधारमा पक्राउ गरी पाँच दिनसम्म यातना दिएको थियो । पहिलो आधार, हेमन्ती र निर्मलाको घर करिब तीन सय मिटरको दूरीमा छ । निर्मला हराएको दिन क्याम्पसबाट फर्कँदै थिइन् हेमन्ती । निर्मलाकी दिदी मनीषास“ग बाटैमा भेट भएको थियो, मनीषाले गणितको एउटा होमवर्कमा सघाउन आग्रह गरिन् किनकि मनीषा र हेमन्तीकी बहिनी भूमिका सहपाठी हुन् । हेमन्तीले भनिन्, ‘मेरो घरमा म फर्कने समय घडी हेरेर बसेका हुन्छन् । त्यसैले घरै आइज ।’ मनीषा उनको पछि लागिन् । घर पुग्नासाथ हेमन्तीलाई एउटा जरुरी कामका लागि बैंक जान अह्राए परिवारले । उनी खानै नखाई बैंकतिर लागिन् । मनीषा उनको घरमै बसिन् । सवा दुई बजेसम्म बैंकमै अलमल भयो । त्यसैबीच पानी दर्कियो र बाटोमा अडिइन् । घर पुग्दा पौने ३ भइसकेको थियो ।

प्रहरीको जिकिर रह्यो कि, ‘निर्मलामाथि बलात्कार र हत्या हुँदाको समयमा त्यो बाटोबाट हिँड्ने तँ पनि थिइस् । तलाई सबै थाहा छ, के–के गरिस् भन् रु’ तेस्रो कारण थियो हेमन्तीकी साथीको नाम पनि निर्मला हो । हेमन्ती र निर्मला धामी सहपाठी हुन् । निर्मला धामीस“ग कुरा गर्न उनका एक आफन्तले वेलाबखत हेमन्तीको मोबाइलमा फोन गर्थे । निर्मला पन्तको बलात्कारपछि हत्या हुनुभन्दा तीन दिनअघि हेमन्तीको मोबाइलमा निर्मला धामीका आफन्तले फोन गरेका थिए । हेमन्ती कक्षामा थिइन्, फोन साइलेन्ट मोडमा थियो । घर फर्केर मोबाइल खोल्दा मिस्डकल देखेपछि उनले म्यासेज लेखिन्, ‘निर्मला मसँग छैनन्, भोलि क्याम्पस समयमा फोन गर्नू ।’

स्कुल पढ्ने निर्मला र क्याम्पस पढ्ने निर्मलाबीचको भेद छुट्याउन नलागी प्रहरी हेमन्तीमाथि जाइलाग्यो । अझ म्यासेजमै ‘क्याम्पस’ समयमा फोन गर्नु भनिएको थियो । जब कि निर्मला पन्त स्कुलकी विद्यार्थी हुन् । निर्मला धामीका आफन्तलाई पनि प्रहरी कार्यालय ल्याएर धम्क्याउँदै केरकार गरियो । र अन्त्यमा दोष थोपर्न नसकेपछि सबैलाई छाड्न बाध्य भयो ।