निर्माणाधीन जलबिद्युत आयोजनामा पहिरो, दुई जनाको मृत्यु

title
आइतवार, भदौ ३१, २०७५

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलबिद्युत आयोजनामा पहिरो जादाँ दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

आयोजनामा काम गर्नको लागी पहुँच मार्ग बनाएको स्थानको अडिट नं. २ मा गएराती आएको पहिरामा पुरिएर मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षका रमेश कार्पाैला र रुकुमको भूमे गाँउपालिका वडा नं. २ का ४८ वर्षका भीम रोक्का रहेको रसुवा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । प्रहरीको अनुसार जलविद्युुत आयोजनामा मजदुरको रुपमा कार्यरत उनीहरुको सुतिरहेको स्थानमा माथीबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा परी घाइते भएका नौ जना मध्ये चार जनाको अबस्था गम्भीर भएकाले थप उपचारको लागी आज काठमाडौ ल्याइएको छ । घाइते पाँच जनाको जिल्ला अस्पताल धुञ्चेमा उपचार पश्चात सामान्य भएको र एक चिनियाँ नागरिक सहित चार जनालाई काममाडौ पठाइएको प्रहरीले जनाएको छ ।

रसुवागढी जलबिद्युत आयोजनाको पहुँचमार्गमा हिजो अपरान्हदेखि नै सुख्खा पहिरो बगिरहेको र गएराती करिब नौ बजे अकस्मात ठूलो पहाड सहितको पहिरो गएको आयोजना पक्षले जनाएको छ । पहिरोको कारण एक सय ११ मेगावाट क्षमताको आयोजनाको काम तत्कालको लागी रोकिएको छ ।