नीताको ‘पञ्चायत’ ओस्कारमा छनोट

title
शुक्रबार, अशोज ५, २०७५

काठमाडौं । आगामी ओस्कार अवार्डमा नेपालबाट फिल्म ‘पञ्चायत’ भिड्ने भएको छ । सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९१ औं ओस्कार समारोहमा उक्त फिल्मलाई ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा भिड्न नेपालबा छनोट गरिएको हो ।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अम्पास) द्वारा मान्यताप्राप्त नेपाल छनोट समितिले अभिनेत्री नीता ढुंगाना स्टारर फिल्म ‘पञ्चायत’ लाई छानेको हो । समितिले नेपालको छनोट चरणमा सहभागिताका लागि आह्वान गर्दा ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ’ ले आवेदन दिएका थिए ।

तीनवटै फिल्म सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जना रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी ‘पञ्चायत’ लाई छानिएको छनोट समितिको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शिवम अधिकारी निर्देशित फिल्ममा ५० वर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई देखाइएको छ । अभिनेता सरोज खनाल पनि फिल्ममा प्रमुख भूमिकामा छन् ।

२०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका फिल्महरुले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो । विमल पौडेलको अध्यक्षता रहेको छनोट समितिमा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य थिए ।

पञ्चायतले नेपालमा राम्रो व्यापार गरेको थियो भने विदेश प्रदर्शनमा पनि रुचाइएको चलचित्र हो । गएको चैत्र २ गतेबाट प्रदर्शनमा आएका चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा शिवम्कै कथा, पटकथा, संवाद र निर्देशन छ । सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले मिलेर चलचित्र बनाएका हुन् । वि.सं २०३३ सालको कथालाई यो चलचित्रमा देखाइएको छ । चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।