नीता पनि अब निर्मात्रीको बाटोमा

title
सोमवार, अशोज १, २०७५

काठमाडौं । नेपाली चलचित्रका अभिनेत्रीहरु एक पछि अर्को गर्दै धमाधम चलचित्र निर्मात्री बन्ने क्रम बढेको छ । रेखा थापा, झरना थापा, केकी अधिकारी लगायत चर्चित अभिनेत्रीहरुले अभिनेसँगै चलचित्र निर्माणमा हात हाली सफलता हात बटुलिसकेको अवस्थामा अभिनेत्री नीता ढुंगानाले पनि अब नयाँ परिचय थप्दै निर्मात्री बन्ने पक्का पक्की भएको छ ।

यही क्रममा अभिनेत्री नीता ढुंगानाले गत वर्ष नै आफ्नो जन्मदिनको अवसर पारेर सिनेमा बनाउन लागेको बताएकी थिइन् । यसका लागि उनले प्रोडक्शन हाउस समेत खोल्ने बताएकी थिइन् । तर, उनलाई प्रोडक्सन हाउस खोल्न झण्डै एक वर्ष कुर्नु प¥यो । हालै नीताले नीता फिल्मस् प्रोडक्शन हाउस स्थापना गरेकी छिन् ।

नीताका अनुसार अब यो कम्पनीबाट उनले फिल्म निर्माण गर्नेछिन् । केहीदिन अघि उनले आफ्नो जन्मदिन मनाइन् । राजधानीको एक होटलमा उनले जन्मदिन विशेष कार्यक्रम समेत आयोजना गरेकी थिइन् । केक काट्नु अगाडि शुभकामना दिने क्रममा नीतालाई दीपाले काममा मिहिनेत गर्न र अरु कुरा नसोच्न आग्रह गरिन् ।

दीपाले भनिन् ‘हाम्रो निर्माणमा बनेको पहिलो चलचित्र ‘६ एकान ६’मा नीता नायिका थिइन् । त्यसपछि हाम्रो काम गर्ने अवसर मिलेको छैन । अब, उनले मेरो निर्देशनमा काम गर्नेछिन् ।’ दीपाले यसो भनिरहँदा नीताका आँखा रसाएका थिए । यस्तै, निर्माता तथा कलाकार दीपकराज गिरीले आफूहरुले पहिलो चलचित्र बनाउँदा कसैले नपत्याएको समयमा नीताले पत्याएको भन्दै उनको कामको तारिफ गरे ।

साथमा, उनले नीतासँग गीतमा डान्स समेत गरे । नायिका ढुंगानाले आफूले हरेक बर्ष जन्मदिन मनाउँदै गर्दा चलचित्रकर्मी, पत्रकार र साथीहरुले दिएको मायाले आफूलाई हौसला मिल्ने गरेको सुनाइन् । नीतालाई जन्मदिनको शुभकामना दिनका लागि नायिका सुष्मा कार्की, नायक आर्यन अधिकारी, निर्माता सुरेश अधिकारी, कलाकार अनुराग कुँवर लगायत पुगेका थिए ।

त्यसो त नीताले अभिनय गरेका केही चलचित्र नेपाली बक्स अफिसमा सफलता बटुलेका भए पनि केही चलचित्रले बक्स असफिसमा लगानी समेत उठाउन सकेका थिएनन् । यस्तो अवस्थामा अब नीता आफै निर्मात्री भएर नयाँ चलचित्र निर्माण गरेपछि उनको अवस्था के हुने हो त्यो भने दर्शक तथा उनका फ्यानहरुका लागि प्रतीक्षाको विषय बनेको छ ।