नुवाकोटमा बस दुर्घटनाः ५७ घाईते, आठ जनाको काठमाडौमा उपचार हुदैँ

title
बुधबार, साउन ३०, २०७५

रामहरि/नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं. २ बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस विदुर नगरपालिका वडा नं. ९ लामाटारमा आज दुर्घटना हुदाँ ५७ जना यात्रु घाइते भएका छन् ।

दुर्घटना गम्भीर घाइते भएका आठ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुँदा चालक ज्ञानबहादुर तामाङ सहित ५७ जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

६० जना भन्दा बढी यात्रुले खचाखच भरिएको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ज्ञानबहादुर तामाङ, वीरबहादुर विश्वकर्मा, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह तामाङ, उत्तम तामाङ, बिबामायाँ तामाङ र मंगली तामाङलाई थप उपचारका लागि काठमाडौ ल्याइएको हो । बाँकी घाइते ४९ जनाको जिल्ला अस्पताल त्रिशूलीमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते ४० जना पुरुष र १७ जना महिला छन् भने उनीहरु अधिकांश बुङताङ, देउराली र साल्मेका स्थानीय बासिन्दा रहेका छन् ।

त्रिशूलीबाट निर्माण सामाग्री बोकेर भैरमकोट जान लागेको मिनीट्रकले लामाटारको उकालेमा बाटो नदिएपछि साइट दिन पछि हटेको बस अघिबढ्ने क्रममा सडक भासिएर दुर्घटना हुँदा करिब ५० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।