नुवाकोटमा पहिरोले १० घर बगायो

title
आइतवार, भदौ ३, २०७५

नुवाकाेट । बाढीपहिरोले नुवाकाेटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको दुई लाखभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा एक लाख मूल्य बराबरको क्षति भएको छ ।

सोही स्थानमा जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण रु आठ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ ।
घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङको दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ ।

पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।