घ्याङफेदी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो, १६ जना बढि घाईते

title
शुक्रबार, मंसिर २८, २०७५

रामहरि न्यौपाने/ नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाँउपालिका वडा न. ६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा।३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनामा तीन जना महिला र १५ जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक मध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ ।

घटनास्थलबाट उद्धार गरिएका मध्ये सात जनालाई उपचारको लागी अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुदाँ उपचारको लागी पठाउन कठिनाई भएको प्रहरी चौकी समुन्द्रटारले जनाएको छ । घटनास्थलमा उद्धारको कार्य भइरहेको छ । गाडीमा ४० जना भन्दाबढी यात्रु रहेको बताइएको छ ।

सिम्टाङ स्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो ।कच्ची सडकमा उकालोतर्फ जादै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब पाँचसय मिटर तल तादी खोलामा पुगेको थियो ।