नुवाकोट र धादिङको सीमा क्षेत्रमा दुर्घटनामा परेको हेलिकप्टरमा पाइलटसहित ७ रहेको पुष्टि

title
शनिबार, भदौ २३, २०७५

काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्क विहिन भएको छ । शनिबार बिहान ६ः५७ मा उडेको कल साइन ९ एन–ए एलएस को हेलिकोप्टर उडेको केही बेरमा सम्पर्क बिहिन भएको एयरलायन्सले बताएको छ ।

काठमाडौँबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौँका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ । यात्रु मध्ये एक जापनिज नागरिक छन् ।

हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको एयरलाइन्सले जानकारी दिएको छ ।

धादिङ जिल्लाको खनियाबास गाउँपालिका, नेत्रावती डापजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको सीमा क्षेत्रको जंगलमा दुर्घटना भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

दुवै जिल्लाबाट हेलिकोप्टर खसेको क्षेत्र पहिचानका लागि प्रहरी परिचालन गरिएको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए । घटनाको थप बिस्तृत विवरण आउन बाँकी छ ।

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको प्रारम्भिक जानकारी अाएको छ ।