(नेकपा)अध्यक्ष दाहालको प्रश्न : सरकारले विद्यमान समस्याको समाधान अहिले नगरे कहिले गर्ने ?

title
शुक्रबार, फाल्गुन ३, २०७५

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नु भएको छ ।

अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि गम्भिर प्रश्न उठाउनु भएको हो ।

काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा उहाँले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । ‘यतिबेला पनि थातिरहेका मुलुकका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ ? डर लाग्दो चित्र आफ्नो सामू आउने गरेको’ अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । उहाँले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनमा गम्भिर बन्न पनि सरकारलाई सुझाव दिनु भयो ।

त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिनु भयो ।